मंगलबार ०१ पुस, २०८२

नेपाली समय

Facebook Live Youtube Live

मन्टेश्वरी शिक्षा : बालबालिकालाई बुझ्ने गहिरो शैक्षिक दर्शन

मन्टेश्वरी शिक्षाले सिकाइलाई आनन्ददायी बनाउँछ । बालबालिका डरले होइन, जिज्ञासाले सिक्छन् ।

बाल्यकाल मानव जीवनको सबैभन्दा कोमल, संवेदनशील र निर्माणशील चरण हो ।

यही समयावधिमा बालबालिकाको मस्तिष्क तीव्र रूपमा विकास हुन्छ, व्यक्तित्वका आधारहरू तयार हुन्छन् र भविष्यका लागि आवश्यक सोच, संस्कार र सीपहरूको जग बसालिन्छ ।

त्यसैले साना बालबालिकालाई कस्तो शिक्षा दिइन्छ भन्ने प्रश्न विद्यालयको सीमाभन्दा धेरै बाहिर पुगेर समाज र राष्ट्रको भविष्यसँग गाँसिन्छ । यही सन्दर्भमा आज विश्वव्यापी रूपमा स्थापित हुँदै गएको मन्टेश्वरी शिक्षा पद्धति नेपालका लागि पनि समयसापेक्ष र अत्यन्त सान्दर्भिक बनेको छ ।

मन्टेश्वरी शिक्षा कुनै साधारण पाठ्यक्रम होइन, यो बालबालिकालाई बुझ्ने एक गहिरो शैक्षिक दर्शन हो । यसको प्रतिपादन इटालीकी शिक्षाविद् तथा चिकित्सक डा. मारिया मन्टेश्वरीले गरेकी हुन् ।

उनले बालबालिकालाई निष्क्रिय सुन्ने पात्र होइन, सक्रिय सिक्ने केन्द्रका रूपमा हेर्नुपर्छ भन्ने अवधारणा अघि सारिन् । उनका अनुसार प्रत्येक बालकभित्र सिक्ने अपार क्षमता हुन्छ, आवश्यक केवल सही वातावरण र मार्गदर्शन हो । यही दर्शन मन्टेश्वरी शिक्षाको आत्मा हो ।

परम्परागत शिक्षामा शिक्षक केन्द्रमा हुन्छन् र विद्यार्थीले निर्देश पालना गर्नुपर्छ तर मन्टेश्वरी शिक्षामा बालक स्वयं सिकाइको केन्द्रमा हुन्छ । यहाँ शिक्षक आदेश दिने अधिकारी होइन, सिकाइको सहयात्री हुन्छन् । बालबालिकाले आफ्नो रुचि, क्षमता र गतिअनुसार गतिविधि छनोट गर्छन् । यसले उनीहरूमा आत्मनिर्भरता, आत्मविश्वास र निर्णय क्षमता विकास गराउँछ, जुन जीवनभर काम लाग्ने गुण हुन् ।

प्रारम्भिक उमेरमा बालबालिकालाई अक्षर र अंक कण्ठ गराउनु भन्दा पनि उनीहरूको इन्द्रिय विकास, भाषिक क्षमता, सामाजिक व्यवहार र भावनात्मक सन्तुलनमा ध्यान दिनुपर्छ । मन्टेश्वरी कक्षामा प्रयोग हुने सामग्रीहरू बालबालिकाको दृष्टि, स्पर्श, श्रवण र गति सबैलाई सक्रिय बनाउने खालका हुन्छन्। खेलकै माध्यमबाट गणितीय अवधारणा, भाषा सीप र जीवनोपयोगी ज्ञान सिकाइन्छ ।

नेपालमा अझै पनि सानो उमेरदेखि नै बालबालिकामाथि शैक्षिक दबाब दिने प्रवृत्ति बलियो छ । नर्सरी कक्षामै कापी–कलमको भारी बोझ, गृहकार्यको चाप र अरूसँग तुलना गर्ने संस्कार देखिन्छ । यसले बालबालिकामा डर, तनाव र सिकाइप्रतिको अरुचि पैदा गर्न सक्छ । मन्टेश्वरी शिक्षाले सिकाइलाई आनन्ददायी बनाउँछ । बालबालिका डरले होइन, जिज्ञासाले सिक्छन् ।

मन्टेश्वरी कक्षाकोठा परम्परागत कक्षाभन्दा भिन्न हुन्छ। यहाँ सबै सामग्री बालबालिकाको उचाइअनुसार राखिएको हुन्छ। साना टेबल, म्याट र खुला स्थानमा उनीहरू स्वतन्त्र रूपमा काम गर्छन् । अनुमति मागेर होइन, जिम्मेवारी बुझेर गतिविधि सम्पन्न गर्छन् । प्रयोगपछि सामग्री आफैं मिलाएर राख्ने बानीले अनुशासन र स्व–नियन्त्रण विकास हुन्छ। यो अनुशासन बाह्य दण्डबाट होइन, आन्तरिक चेतनाबाट उत्पन्न हुन्छ ।

मन्टेश्वरी शिक्षाको अर्को महत्वपूर्ण पक्ष भनेको व्यक्तिगत भिन्नताको सम्मान हो । सबै बालबालिका एउटै गतिमा सिक्दैनन् भन्ने यथार्थलाई यो पद्धतिले स्वीकार गर्छ । कसैले छिटो बोल्न सिक्छ, कसैले ढिलोस कसैलाई चित्र बनाउन मन पर्छ, कसैलाई गन्न । यहाँ तुलना होइन, प्रत्येक बालकको प्रगतिको मूल्याङ्कन गरिन्छ । यसले प्रतिस्पर्धाभन्दा सहकार्यको भावना विकास गर्छ ।

नेपालमा मन्टेश्वरी शिक्षाप्रति आकर्षण बढ्दै जानु सकारात्मक संकेत हो । शहरी क्षेत्रका धेरै विद्यालयले मन्टेश्वरी कक्षा सञ्चालन गरिरहेका छन् तर यससँगै चुनौतीहरू पनि छन् ।

सबैभन्दा ठूलो चुनौती भनेको प्रशिक्षित शिक्षकको अभाव हो । मन्टेश्वरी शिक्षक बन्न विशेष तालिम, धैर्य र बालमनोविज्ञानको गहिरो बुझाइ आवश्यक हुन्छ तर कतिपय ठाउँमा नाम मात्रै मन्टेश्वरी राखेर व्यवहारमा पुरानै पद्धति अपनाइएको पाइन्छ, जसले यसको मर्म कमजोर बनाउँछ ।

अभिभावकको भूमिका पनि यहाँ निर्णायक हुन्छ। धेरै अभिभावक अझै पनि तत्काल देखिने नतिजामा केन्द्रित छन् । अक्षर चाँडो चिन्यो कि छैन, कापी कति भर्‍यो भन्ने आधारमा बच्चाको मूल्याङ्कन गरिन्छ । मन्टेश्वरी शिक्षामा  प्रारम्भिक परिणाम सूक्ष्म हुन्छ— व्यवहारमा सुधार, आत्मविश्वासको वृद्धि र सिकाइप्रतिको रुचि । यी परिवर्तन समयसँगै गहिरो र स्थायी बन्छन् ।

राज्यले प्रारम्भिक बालशिक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्नु आवश्यक छ । सरकारी विद्यालयहरूमा पनि मन्टेश्वरीका आधारभूत सिद्धान्तहरू लागू गर्न सकिन्छ ।

शिक्षक तालिम, पाठ्यक्रम विकास र अनुगमन प्रणालीलाई प्रभावकारी बनाएर प्रारम्भिक शिक्षा गुणस्तरीय बनाउन सकिन्छ । बालबालिकाको प्रारम्भिक पाँच वर्षमा गरिएको लगानीले दीर्घकालीन रूपमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा ठूलो प्रतिफल दिने विश्वव्यापी अध्ययनहरूले देखाइसकेका छन् ।

अन्ततः, मन्टेश्वरी शिक्षा कुनै विलासिता वा फैशन होइन, यो बालबालिकाप्रतिको दृष्टिकोणमा आएको परिवर्तन हो ।

बालबालिका खाली कागज होइनन्, जसमा जे लेखे पनि बस्छस उनीहरू सोच्ने, बुझ्ने र सिर्जना गर्ने क्षमतायुक्त मानव हुन् । उनीहरूलाई चाहिने कुरा सही वातावरण, सहानुभूति र स्वतन्त्रता हो । आज हामीले साना बालबालिकालाई जस्तो शिक्षा दिन्छौं, भोलि समाज त्यस्तै नागरिक, नेतृत्व र संस्कार लिएर अघि बढ्छ ।

यसैले मन्टेश्वरीमा साना बालबालिकाको शिक्षा केवल विद्यालयको जिम्मेवारी होइन, अभिभावक, समाज र राज्य सबैको साझा दायित्व हो । बालमस्तिष्कको स्वतन्त्र उडान सुनिश्चित गर्न सके मात्र समुन्नत, सभ्य र मानवतामूलक समाज निर्माण सम्भव छ ।