आँगन (बालकविता)
दसैँ आउँदा आँगनीमै पिङ खेलेर रमाइन्छ– चाडपर्वमा टीका लाइन्छ पैसा कमाइन्छ !

भैलो खेल्ने भैली आउँछन् दुई चार पैसा मागन
हाम्रो घर अगाडिको ठूलो आँगन
भजन कीर्तन गाइन्छ, रमाइन्छ हाँसिन्छ
आँगनीमा जम्मा भई सँगै नाचिन्छ
टाढैबाट आमा बाबा आउनु भा'को देखेर
आँगनीमै बस्छौँ हामी बाटो छेकेर
भारी पोको बिसाउने फराकिलो छ ठाउँ
के के रै'छन् हेरम् त हिँड त्यतै जाऊँ
ट्वाक्क पारी निबुवा र नुन खुर्सानी साँधेर
यहीँ बसी खाने हो थालमा राखेर
कपर्दी र डन्डीबियो खेल्नु यहीँ जाती हो
ढ्याक खेलौँ उफ्री उफ्री आऊ साथी हो
चुम्मी खेलौँ, गट्टा खेलौँ साथी साथी भएर
इन्चु-पिन्चु खेलौँ यहीँ सँगै रहेर
स्यान्दिदीले आँगनीमा मान्द्रो ल्याउँछिन् फुकाउँछिन्
ठूल्दिदीले धानको बिस्कुन सुकाउँछिन्
घुमाई घुमाई धान्को बिटो राख्नुपर्दा कुनियो
ठाउँ नपाए आँगनीमै राखे हुनी हो
मास भट्ट ठटाइन्छ धान यहीँ झाँटिन्छ
उस्तै पर्दा तान बनाई गुन्द्री बाटिन्छ
दसैँ आउँदा आँगनीमै पिङ खेलेर रमाइन्छ
चाडपर्वमा टीका लाइन्छ पैसा कमाइन्छ
बढारकुढार गर्ने हो सफा सुग्घर पार्ने हो
आँगनीकै डिलमा राम्रा फूल सार्ने हो
गुन्द्री ओच्छ्याई जाडो मासमा घाम यहीँ तापौँला
पढ्न लेख्न साथीलाई नि यतै डाकौँला
गाउँमै घर भए'नि बालाई सुख भ'को छ
धन्न आँगन छ र पो ढुक्क भ'को छ ।
मध्यनेपाल नगरपालिका-६, भोर्लेटार, लमजुङ
प्रतिक्रिया