झुपडीको राजा (बालकथा)
आमाले माया गर्दै भन्नुभयो, “बाबु, आफ्नो झुपडीको राजा बन, कसैको महलको गुलाम कहिल्यै नबन ।” त्यस दिन टिकेले निर्णय गर्यो- ऊ यही झुपडीमा बस्नेछ, यहीँ पढ्नेछ तर कहिल्यै बिक्नेछैन ।

सगरमाथा हिमालमुनि एउटा सानो गाउँ थियो– फेदीगाउँ । त्यहाँ भीरको काखमा माटो र खरले बनेका झुपडीहरू थिए तर आकाशजत्तिकै ठूलो सपना बोकेका बालबालिका थिए ।
त्यही गाउँमा बस्थ्यो- टिके । उसको घर पनि अरूझैं सामान्य, खरले छाएको झुपडी थियो । स्कुल जानुअगाडि ऊ बाख्रा चराउँथ्यो । स्कुलबाट फर्केपछि आमालाई बारीमा सहयोग गर्थ्यो ।
एकदिन सहरबाट आएका मानिसले भन्नुभयो, “टिके, तँजस्तो तेज दिमाग भएको बालक सहर जानुपर्छ । त्यहाँ महलजस्तो स्कुल हुन्छ, कम्प्युटर हुन्छ, ठूलाठूला किताब हुन्छन् । मसँगै हिँड्, तँलाई राम्रो जागिर लगाइदिन्छु ।”
टिके अलमलियो । आमाको आँखा रसाए । बाबुको अनुहार गम्भीर बन्यो ।
बिहानपख, आमाले माया गर्दै भन्नुभयो, “बाबु, आफ्नो झुपडीको राजा बन, कसैको महलको गुलाम कहिल्यै नबन ।”
त्यस दिन टिकेले निर्णय गर्यो- ऊ यही झुपडीमा बस्नेछ, यहीँ पढ्नेछ तर कहिल्यै बिक्नेछैन ।
ऊ स्कुल जान थाल्यो, अरू बच्चाहरूलाई पनि पढाउन थाल्यो । झुपडीभित्र पुस्तकालय बनायो । गाउँमै कम्प्युटर ल्यायो ।
समय बित्दै गयो । फेदीगाउँका झुपडीहरू उज्यालो बन्न थाले । बच्चाहरूको सपना त्यहीँबाट उड्न थाले ।
कहिल्यै महल देख्न नपाएको टिकेले एउटा नयाँ महल बनायो- ज्ञान र आत्मसम्मानको ।
अब फेदीगाउँका बालबालिका गर्वले भन्थे- "हामी झुपडीका राजा हौं, कसैको गुलामी हामीलाई स्वीकार छैन !"
प्रतिक्रिया