‘बच्चा र ठूला मान्छेमा एन्जाइटी र डिप्रेसनका लक्षण फरक हुन्छन्' (भिडियाे)
'जब बच्चाले आफ्ना कुरा सुनिदिने र बुझ्ने वातावरण पाउँदैन, तब उसमा चिडचिडापन, एक्लोपन, डर वा रिसाहा व्यवहार देखा पर्न सक्छ ।'
पछिल्ला वर्षहरूमा बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ । किन त ?
बालबालिकामा देखिने मानसिक समस्या, त्यसका लक्षण, कारण र उपचारबारे हामीले ललितपुरकाे लगनखेलस्थित मानसिक अस्पतालमा कार्यरत वरिष्ठ मनोचिकित्सक अनन्त अधिकारीसँग कुराकानी गरेका छाैं ।
उहाँका अनुसार बालबालिकामा चिन्ता, डर, आत्मग्लानि, डिप्रेसन, एन्जाइटी, ध्यान अभाव, सामाजिक तथा भावनात्मक असन्तुलन, निद्रासम्बन्धी समस्या, एक्लोपना, आक्रोश तथा आचरणमा गम्भीर विचलनजस्ता समस्या देखापर्न सक्छन् ।
बालबालिकामा हुने र ठूला मानिसमा हुने एन्जाइटी र डिप्रेसनका लक्षण फरक हुने उहाँ बताउनुहुन्छ । 'सामान्यतया ठूला मानिसमा निरासा, नरमाइलोपन, दिक्दारी जस्ता लक्षण हुन्छन् भने बालबालिकाले यस्ता कुरा व्यक्त गर्न सक्दैनन्, त्यसैले उनीहरूमा व्यवहारगत समस्या देखा पर्छन्,' उहाँ भन्नुहुन्छ, 'बच्चा झगडालु हुने, खाना खान नमान्ने, निद्रामा समस्या, चकचकेपनमा वृद्धि, स्कुल जान नमान्ने, एक्लै बस्न रुचाउने, साथीहरूसँग घुलमिल नहुने जस्ता समस्या देखियाे भने डिप्रेसन हो कि भनेर सचेत हुनुपदर्छ ।'
यसैगरी एन्जाइटीमा डरत्रास उत्पन्न हुने, राति नसुत्ने, विद्यालयमा बेहोस् हुनेजस्ता समस्या देखा पर्ने उहाँ बताउनुहुन्छ ।
यस्ता संकेतहरू बच्चाको सामान्य व्यवहारमा परिवर्तन देखिएपछि सहजै पहिचान गर्न सकिने उहाँकाे अनुभव छ । 'धेरैजसो अभिभावकले सामानय लक्षण देखिँदा उमेरअनुसारको स्वाभाविक व्यवहार ठान्नुहुन्छ,' उहाँ भन्नुहुन्छ, “तर समयमै पहिचान र सही उपचार नपाए दीर्घकालीन असर पर्न सक्छ ।'
डा. अधिकारीका अनुसार बालबालिकामा मानसिक समस्या उत्पन्न हुनुका पछाडि पारिवारिक, सामाजिक र प्रविधिमूलक कारणहरू जिम्मेवार छन् । घरमा लगातार झगडा, अभिभावकसँग बच्चाका लागि समयअभाव, पढाइकाे बाेझ, बढ्दो प्रतिस्पर्धा, सामाजिक दबाब, मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोग तथा भिडियो गेमको लतजस्ता कुराले बालबालिकाको मानसिक अवस्थामा नकारात्मक प्रभाव पार्ने गर्दछ ।
'जब बच्चाले आफ्ना कुरा सुनिदिने र बुझ्ने वातावरण पाउँदैन, तब उसमा चिडचिडापन, एक्लोपन, डर वा रिसाहा व्यवहार देखा पर्न सक्छ,' उहाँ स्पष्ट पार्नुहुन्छ।
उपचारको सन्दर्भमा डा. अधिकारी भन्नुहुन्छ, 'बालबालिकालाई दिइने उपचार सधैं उमेरअनुसार, संवेदनशील र दीर्घकालीन सोचका साथ हुनुपर्छ ।'
प्रारम्भिक चरणमा काउन्सिलिङ, व्यवहारगत उपचार, खेल थेरापी, चित्रकला वा संगीत थेरापी, परिवार तथा शिक्षकहरूसँगको सहकार्यमार्फत समस्याको समाधान खोज्न सकिने उहाँको सुझाव छ । केही जटिल अवस्थामा औषधि पनि आवश्यक पर्न सक्छ तर औषधि मात्रमा भर पर्नुभन्दा वातावरणमै सुधार ल्याउनु दीर्घकालीन रूपमा अधिक प्रभावकारी हुने डा. अधिकारीको भनाइ छ।
बालबालिकाको मानसिक स्वास्थ्यका लागि अभिभावक र शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ । 'बालबालिकाको व्यवहारमा सामान्यभन्दा फरक कुरा देखिएमा तुरुन्तै विशेषज्ञको सल्लाह लिनु अत्यावश्यक हुन्छ,' उहाँ भन्नुहुन्छ ।
साथै, बच्चासँग नियमित संवाद गर्नु, उनीहरूको भावना बुझ्ने प्रयास गर्नु, माया र साथ दिनु तथा पढाइ र अनुशासनको सन्तुलन कायम राख्नु आवश्यक रहेको डा. अधिकारीको सुझाव छ । उहाँ भन्नुहुन्छ, 'बाल्यकाल व्यक्तित्व विकासको आधार हो, त्यसैले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्न सक्नुपर्छ । यो आजको समयको आवश्यकता हो ।'
सुनौं– डा. अधिकारीका विचार भिडियोमा ।
‘बच्चामा पनि न्युरोलोजिकल समस्या देखा पर्छन्’

बालबालिकालाई याेग र ध्यान किन गराउने ?

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
शिक्षण अस्पतालमा बाल विकाससम्बन्धी प्रदर्शनी (भिडियाे)
‘डाउन सिन्ड्रोम भएका बच्चालाई भत्ता होइन, शिक्षा र स्वास्थ्य उपलब्ध गराइयाेस्' (भि…
‘बच्चाहरूमा पनि तनाव हुन्छ, त्यसलाई अभिभावकले बुझ्न सक्नुपर्छ’ (भिडियाे)

किन बन्द हुन्छ बच्चाको नाक ? किन दुख्छ कान ? (भिडियाे)

प्रतिक्रिया