आइतबार ०८ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

राष्ट्रपति रनिङ सिल्डमा प्रवीण र संगीताको कीर्तिमान

प्रवीणले छात्र १ सय मिटर तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाउनुभएकाे हाे ।

बागमती प्रदेशका प्रवीण रानामगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्नुभएकाे छ । प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाउनुभएकाे हाे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रवीणले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जित्नुभएकाे छ । यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेन्डको कीर्तिमान थियो । कोशी प्रदेशका सुजन मण्डल दोश्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेश्रो हुनुभयाे ।

संगीताले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पार्नुभयाे । उहाँले २०७६ सालमा अरुणा रिजालले स्थापित गरेको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गर्नुभएकाे हाे । बागमतीकी अनिशा थारु दोश्रो र कर्णालीकी कृष्णा राना तेश्रो बन्नुभयाे ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगिताको छात्रा १ सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो हुनुभयाे । दिनाले १२.८१ सेकेन्ड समय लगाउनुभयाे । लुम्बिनीकी आरुशी भट्टराई दोश्रो तथा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेश्रो हुनुभयाे ।

छात्र ४ सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जित्नुभयाे । उहाँले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चनुभयाे । गण्डकीका प्रकाश महतोले रजत तथा सुदूरपश्चिमका विक्रम विष्टले कांस्य हात पार्नुभयाे ।

छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो हुनुभयाे । उहाँले १.६८ मिटर जम्प गर्नुभयाे । सुदूरपश्चिमका उज्ज्वलकुमार विक दोश्रो तथा गण्डकीका विवेक महतो तेश्रो स्थानमा रहनुभयाे । स्पर्धाको छात्रामा १.३८ मिटर जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहनुभयाे । गण्डकीकी सविता खातुन मिया दोश्रो तथा कर्णालीकी हीरा बुढा तेश्रो हुनुभयाे ।

सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो हुनुभयाे । उहाँले १३.६१ मिटर टाढा फाल्नुभयाे । लुम्बिनीका राजन भण्डारी दोश्रो तथा कर्णालीका केशव विक तेश्रो हुनुभयाे । छात्रामा बागमतीकी एलिना विकले ८.६९ मिटर टाढा फाल्दै स्वर्ण जित्नुभयाे । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कांस्य जित्न सफल हुनुभयाे ।

छात्रा १ हजार ५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी ५ मिनेट ०३.९ सेकेन्डमा दूरी तय गर्दै पहिलाे हुनुभयाे । बागमतीकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी देवकी धामीले तेश्रो स्थान हासिल गर्नुभयाे । प्रतियोगितामा २६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।