आइतबार ०८ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

हराएको मोबाइल (बाल कविता)

एआईकाे प्रयाेग गरी बनाइएकाे चित्र

'कहाँ राखेँ, कसले लग्यो मनै डरायो
मेरो मोबाइल खोजिदेऊ न कता हरायो ?'

बाले यसो भनेपछि मोबाइल खोजियो
घरमा सोध्नु साटो पहिले अन्त सोधियो ।

भाइले भन्यो, 'मोबाइल हिजो खाटमा थियो बाको'
बैनी भन्छे, 'बिहानसम्म हातमा थियो बाको'

दाइको कुरा 'घरमै खोजौँ बाहिर नजाऔँ
चोर्‍या छैनन् कसैले नि दोष नलाऔँ'

आमा मोबाइल खोज्दै हैरान भान्छा कोठामा
बज्यै खोज्न पुग्नुभयो गाई-गोठमा

खोज्दा खोज्दा नपाएर हत्तु भए सबै
नपाएको खबर बालाई भन्न गए सबै

बाले मोबाइल खोज्दै गर्दा भाइ चिल्लायो
जिस्क्याउँदै उल्टै उसले बालाई बिल्यायो

'हातको मोबाइल नदेखेर अन्तै सोध्ने बा
मोबाइलकै लाइट बाली मोबाइल खोज्ने बा !'
-----------------

- भोर्लेटार, लमजुङ

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)